प्रधानमन्त्री देउवा एसपीपीका विषयमा जवाफ दिन संसदीय समितिमा गएनान्

 

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएनान्। प्रधानमन्त्री देउवालाई आजको बैठकमा उपस्थित हुन समितिले निर्देशन दिएको थियो ।

अमेरिका भ्रमण, एसपिपीलगायतका विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी आएको बताइन्। समिति बैठकमा नआएर प्रधानमन्त्रीले ‘अपमान गरेको महशुस भएको’ उनले बताएकी छन्। समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि आइतबारको बैठकमा बोलाएको थियो । उक्त बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि सभापति निरौलाले यस्तो बताएकी हुन् ।

अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी)का बारेमा छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको थियो । समितिको यसअघि बसेको दुई वटा बैठकमा यस विषयमा छलफल भइसकेको छ । यसअघिको समितिको बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्माले जवाफ दिएका थिए।

एमाले सांसदहरूको विरोध

प्रधानमन्त्री देउवा समिति बैठकमा नआएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदहरूले विरोध गरेका छन्। नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने बताए ।

तर सत्तारूढ नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले भने अमेरिका भ्रमण तय भएपछि प्रधानमन्त्री जवाफ दिन समितिमा आउने भन्दै प्रतिरक्षा गरेकी थिइन्।