रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले ले संयुक्त चुनावी अभियान सुरु गरेका छन। चौरजहारी नगरपालिकाको वडा नं ३ मा संयुक्त चुनावी सभा गर्दै दलहरुले आफ्ना पक्षमा अभिमत जुटाउन र आसन्न बैसाख ३० को स्थानीय निर्वाचनमा तालमेलमा रहेका दलहरु कांग्रेस र एमाले लाई विजयी गराउन चुनावी अभियान सुरु गरिएको बताएका छन ।
सत्तामा गठबन्धनमा रहेका दलहरु बीच पद बाडफाडको कुरा नमिल्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भने नेपाली कांग्रेस र नेकपा एमाले बीच चुनावी तालमेल भएको छ ।
संयुक्त रुपमा आयोजित चुनावी सभामा नेकपा माओबादी केन्द्र परित्याग गर्दै १२ जनाले नेकपा एमाले र २ जनाले नेपाली कांग्रेस प्रवेश गरेको नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तिर्था गौतमका स्वकीय सचिव कौशिला केसीले जानकारी दिनु भयो । माओवादी परित्याग गर्नेहरुमा गोरख बहादुर नेपाली, केसर कामी, रगबिर बिक, टिकाराम बिक, नर बहादुर कामी, परे नेपाली, जयराम कामी, कौशिला बिक, सरस्वती कामी, कलम बहादुर कामी, देब बहादुर बटाला, ललिता भन्डारी लगायत रहनु भएको स्वकीय सचिव केसीले बताउनु भयो ।
संयुक्त चुनावी सभाको पहिलो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य तिलक भण्डारीले नेपाली कांग्रेस र एमालेको तालमेलले सकारात्मक संदेश दिएको र जनताहरुमा नयाँ आशाको संचार गरेको बताउनु भयो । भण्डारीले “नातावाद, कृपावाद हुदै व्यक्ति पूजा सम्म पुगेका नवसामन्त र तिनका आसेपासेहरुले चौरजहारीलाई भ्रष्टाचारको दलदलमा पुर्र्याएको हुदा नेपाली कांग्रेस र एमालेको सरकार बने मात्र चौरजहारीले निकास र जनताले राहत पाउने कुरा बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले तालमेलमा रहेका कांग्रेस र एमालेलाई विजयी बनाउन अपिल गरेका थिए ।
संघीय सांसद तिर्था गौतमको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेसका वडा सभापति भिम बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न संयुक्त चुनावी सभामा नेकपा एमालेका केन्द्रिय सदस्य चन्द्र बहादुर विक नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारी, क्षेत्रीय सभापति भद्र बहादुर बिष्ट लगायत नगर प्रमुख, उपप्रमुखका, वडा अध्यक्ष र सदस्यहरुका उमेद्वार र स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस र नेकपा एमाले ले चौरजहारी नगरपालिकामा चुनावी तालमेल गरी नगर प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट प्रेम बहादुर ओली र नेकपा एमालेका तर्फबाट टंक ओलीलाई उमेद्वार बनाएको छ भने १४ वटै वडाहरुमा पनि सहमतिमा उमेद्वार चयन गरेको छ ।

हेलो कर्णाली । १७ बैशाख २०७९, शनिबार २०:४९