रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रमुख र उपप्रमुख लागि नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार टुंगाएको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमितिको मंगबार बसेको बैठकले प्रमुखमा प्रेम बहादुर ओली र उप प्रमुखमा दीपा डाँगी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एकदम धेरै चासोका साथ हेरिएको चौरजहारी कांग्रेसका उम्मेदवार सिफारिस सौहार्दपूर्ण रुपमा सर्वसम्मत टुंगिएको नगर कार्य समिति सचिव लक्ष्मण ओलीले जानकारी दिनु भयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तिलक भण्डारी, कर्णाली प्रदेश कार्य समिति सदस्य बलबिर गोसाई, नेपाल महिला संघ रुकुम पश्चिमका अध्यक्ष मनिषा भण्डारी , युवा नेता शीव आचार्य लगायतको दाबी रहेको भएतापनि वर्तमान आवश्यकतालाई ध्यान दिदै कांग्रेसलाई एकताबद्द बनाएर लैजान प्रेम बहादुर ओलीलाई समर्थन गर्दै आ-आफ्नो दाबी फिर्ता लिएको बताईएको छ । यद्यपी निर्णयमा पुग्नु अघि भने पार्टीका सबै वडा सभापतिहरुको राय बुझिएको थियो, उक्त छलफलमा पनि १४ वटै वडा सभापतिहरुले नगर प्रमुखमा प्रेम बहादुर ओलीकै नाममा सहमति जनाएका थिए ।
नगर प्रमुख पदका लागि सिफारिस हुुनुभएका ओली नेपाली कांग्रेस चौरजहारीका नगर सभापति समेत रहनु भएको छ ।
सचिव ओलीका अनुसार वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको छनौट लागि छलफल भैरहेको र भोली सम्म टुंगाएर जिल्लामा सिफारिस गरिने छ ।
यस अघि नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिले अध्यक्ष पदमा जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्द केसीलाई त्रिवेणी गाउँ कार्यसमितिले अध्यक्षमा अमरसिं खड्का र उपाध्यक्षमा सृष्टि बाँठामगरलाई र सानीभेरी गाउँपालिकामा गोरख बहादुर चन्दलाई अध्यक्ष पदका लागि सर्वसम्मत रुपमा सिफारिस गरिसकेको जनाईएको छ ।

हेलो कर्णाली । ६ बैशाख २०७९, मंगलवार १७:४०