देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताको अपिल

सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढन गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढन पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो।

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ।