टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदान यूएईसँग हार बेहोरेपछि नेपालको विश्वकप खेल्ने सपना फेरि अधुरै रहेको छ। पछिल्लो विश्वकपमा एसियाको पूर्वी छनोटबाटै बाहिरीएको नेपालले ग्लोबल छनोटमा यूएईसँग ६८ रनको हार बेहोरेपछि नेपालको विश्वकप यात्रामा पूर्ण विराम लागेको हो।
अब अष्ट्रेलियामा आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने नेपाल खेल्ने छैन भने यूएईले खेल्ने पक्का भएको छ। १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभर पनि टिक्न सकेन। १८ ओभर चार बलमा अलाउट भएको नेपालले १०७ रन मात्र जोड्न सक्यो।
यसअघि नेपालले बंगलादेशमा आयोजना भएको टी २० विश्वकप खेलेको थियो। त्यतिबेला पनि नेपालका प्रशिक्षक पुबुदु नै थिए। उनले नेपाललाई पहिलो पटक विश्वकप पुर्याए पनि दोस्रो पटक विश्वकपमा पुर्याउन सकेनन्। त्यतिबेला नेपाललाई विश्वकप पुर्याएका कप्तान पारख खड्काले भने केहि महिना अघि नै संन्यास घोषणा गरिसकेका छन्।
यो प्रतियोगिता अघि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दिप लामिछानेलाई कप्तानीको जिम्मेवारी दिएको थियो। सन्दिपको कप्तानीमा नेपालले पछिल्ला छ खेलमा राम्रो प्रदर्शन गरे पनि विश्वकपको यात्रा गर्न भने सकेन।
ओमनमा भर्खरै सम्पन्न भएको खेलमा यूएईबाट नेपालले १७६ रनका लक्ष्य पाएको थियो। ११ ओभरमै सय रन पुरा गरेको यूएईले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गर्यो। उसले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो।
यूएईको ब्याटिङमा भृत्य अरविन्द नायक रहे। उनले कमजोर अवस्थाबाट यूएईलाई सुरुमै उकासेका थिए। नेपालका जितेन्द्र मुखियाले दोस्रो ओभरमै पहिलो विकेट लिए पनि नेपाली बलिङमाथि यूएईका ब्याटर हाबी भए। जितेन्द्रले दोस्रो ओभरको चौथो बलमा यूएईका चिराग पुरीलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। तर व्यक्तिगत दोस्रो ओभरमा जितेन्द्रले १८ रनको सामना गर्नुपर्यो।
यसरी खेलको सुरुमा धरमराको यूएईका भृत्य अरविन्दले खेलमा सानदार सुरुआत गरेका थिए। त्यो सबै १८ रन अरविन्दले नै प्रहार गरेका थिए। त्यसपछि नेपाल दबाबमा पर्यो।
आफ्नो पहिलो ओभरमा अभिनास बोहराले १८ रनको सामना गरे भने लामिछानेले पनि पहिलो ओभरमै १३ रन बेहोरे। युएईको स्कोर छ रनको कमजोर अवस्थाबाट ७२ रन बनाउन नायक रहेका अरविन्दलाई सन्दिपले सात ओभर तीन बलमा आउट गराएका थिए।
अरबिन्दले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए। त्यसपछि यूएईको करिब नौको रनरेट कायम थियो भने अरविन्दले २०० को स्ट्राइक रेट राखे।
खेलमा पहिलो १० ओभर सकिँदा नेपालका कमल सिंह ऐरी र सन्दिप लामिछानेले मात्र सम्हालिएर बलिङ गर्न सके। त्यो अवस्था खेल सकिँदासम्म नै रह्यो। १० ओभर सकिँदा यूएईले दुई विकेट गुमाएर ८४ रन बनाएर सहज अवस्थामा पुगिसकेको थियो।
यूएईको ओपनिङमा चिराग सुरीसँगै मुहम्मद वासिम आएका थिए। चिरागले पाँच बलमा चार रन मात्र बनाउन सके। तर मुहम्मद वासिमले अर्धसतकिय पारी खेले। उनले ४८ बलमा चार चौका र चार छक्काको सहयोगमा ७० रन जोडेका हुन्।
त्यस्तै, मुहम्मद उसमानले १७ रनको योगदान दिए भने जावर फरिदले ११ रन बनाए। जितेन्द्रले चिरागपछि बसिल अहमद र जावर फरिदलाई पनि पेवेलियन फर्काएका थिए। समग्रमा उनले तीन विकेट लिए।
नेपालले आज टस हारेर बलिङको अवसर पाएको थियो। सुरुका दुई ओभर खराब अवस्थाबाट गुज्रिएका अभिनासले आफ्नो तेस्रो ओभरमा भने दूई विकेट लिए। उनले ७० रन बनाएका मुहम्मद वासिम र १७ रन बनाएका मुहम्मद उसमानलाई आउट गराए। समग्रमा अभिनासले चार ओभर बलिङ गर्दै तीन विकेट लिएर ४६ रन खर्चिए।
यता जितेन्द्र मुखियाले तीन ओभर बलिङ गर्दै ३५ रन दिएर तीन विकेट लिए। त्यसबाहेक सन्दिपले एक विकेट लिए। कमल, आरिफ शेख र दिपेन्द्रले भने विकेट लिन सकेनन्।
जवाफमा नेपालले खराब सुरुआत गर्यो। पहिलो ओभरमै दुई खेलाडी आउट भएपछि नेपाल तीन रन बनाएर दुई विकेट गुमाएको अवस्थामा थियो। नेपालका आशिफ शेख र लोकेश बम शून्य रनमा आट भए।
उनीहरुलाई जैन सिद्दकीले पेवेलियन फर्काएका थिए। सिद्दकीले खेलमा चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर तीन विकेट गिराए। अहमद राजाले पाँच विकेट लिए। त्यस्तै रोहन मुस्तफा र जहुर खानले समान एक–एक विकेट लिए।
नेपालका ओपनर कुशल भुर्तेल सात रनमै आउट भए। त्यसपछि आशिफ शेख र दिपेन्द्रले केही समय सम्हालिएर खेलेका थिए। उनीहरुले ३६ रनको साझेदारी गर्दा आरिफले ११ रन बनाए। ज्ञानेन्द्रसँग दिपेन्द्रले ३३ रनको साझेलदारी गरे, जहाँ ज्ञानेन्द्रले २० रन बनाए।
३८ बल खेलेका दिपेन्द्रले नेपालका लागि सबैभन्दा धेरै ३८ रन बनाए। नेपालका कप्तान सन्दिपले चार, विवेक यादवले आठ र कमल ऐरीले चार रन बनाए। त्यस्तै ओमनलाई ५६ रनले हराउँदै आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएको छ।-नेपाल समय
हेलो कर्णाली । १० फाल्गुन २०७८, मंगलवार १९:२१