रुकुम पश्चिममा कार्यरत प्र.नि. कपिल शाही कमाण्डो तालिममा सर्वोत्कृष्ट

 

जिल्ला प्रहरी कार्याल रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कपिल शाही नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी(पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिममा सर्वोत्कृष्ट भएका छन ।

मंगलबार तालिमको दिक्षान्त समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट तालिममा सहभागी विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरीएको थियो ।

उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँ, तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवर एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

उक्त ९० कार्यदिन अवधिको तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता थियो ।