रुकुमका अधिकांश व्यवसायीहरुले कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक भन्दा फरक (मिसम्याच) गरेको पाईएको छ । आन्तरिक राजश्व कार्यालय दाङ मार्फत करदाता सेवा कार्यालय श्रीनगर सल्यानले जारी गरेको विवरण अनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा आर्थिक वर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्मको कारोबार मिसम्याच परेका ४०३ जना व्यवसायीहरु रहेका छन् ।
चौरजहारी उद्योग वाणिज्य संघ रुकुम पश्चिमका पूर्व अध्यक्ष तेज बिष्ट ‘ओके” का अनुसार खरिद वा बिक्रि कारोबार धेरै गर्ने तर लेखा सम्बन्धिको ज्ञानको अभावका कारण विवरण दुरुस्त नराखि कर कार्यालयमा जानकारी गराउँदा कम अंकको विवरण पेश गरेको, तर वास्तविक कारोबार र करदाताले पेश गरेको कारोबारमा परेको फरक रकम नै मिसम्याच हो ।
करदाता सेवा कार्यालय श्रीनगर सल्यानले एक सूचना जारी गर्दै कारोबार रकम मिसम्याच भएका करदाताहरुले चैत मसान्त सम्म कर दाखिला गरेमा मिसम्याचमा परेको रकमको १.५ प्रतिशत मात्र तिर्नुपर्ने गरी छुट सुविधा दिईएको जनाएको छ । चैत मसान्त भित्र कर दाखिला नगरेमा मिसम्याचको ३६ प्रतिशत सम्म कर थप हुने सक्ने करदाता कार्यालयले बताएको छ ।
उद्योग वाणिज्य संघका अनुसार रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका ३३७ जना करदाता व्यवसायीको कारोबार मिसम्याचमा परेको छ भने रुकुम पूर्वका ६६ जना व्यवसायीको कारोबार मिसम्याचमा परेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका १२७, चौरजहारी नगरपालिकामा रहेका ६९, आठबिसकोट नगरपालिकाका ४८, त्रिवेणी गाउँपालिकाका ४७, बाँफिकोट गाउँपालिकाका २४ र सानीभेरी गाउँपालिकाका २२ करदाताको कारोबार मिसम्याचमा परेको छ ।
त्यसैगरी रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३९, भूमे गाउँपालिकाका १९ र पुथा उत्तरगंगा गाउँपालिकाका ८ जना व्यवसायीको कारोबार मिसम्याचमा परेको छ ।
उद्योग वाणिज्य संघ रुकुम पश्चिमले जिल्लाका सबै करदाता व्यवसायीहरुलाई समयमै मिसम्याच रकमको छुट सुविधा लिन अनुरोध गरेको छ भने व्यावसायीको सहजताको लागी करदाता सेवा कार्यालयका कर्मचारीहरुलाई चौरजहारीमै बोलाउने कोसिस भैरहेको र सम्भवत कर्मचारीहरु भोली सम्म चौरजहारी आईपुग्ने हुदा चौरजहारी र आसपासका व्यावसायीहरुले चौरजहारी बाटै कर दाखिला गरी जरिवाना बाट बच्न सक्ने चौरजहारी उद्योग वाणिज्य संघ रुकुम पश्चिमका पूर्व अध्यक्ष तेज बिष्ट ‘ओके” ले जानकारी दिनु भयो । – मूलपाटी डट कमको सहयोगमा
हेलो कर्णाली । १८ चैत्र २०७८, शुक्रबार ०९:००