एमसीसीको तनाब पछि सुर्खेतमा कर्फ्यू आदेश जारी

अमेरिकी सहायता सम्बन्धी सम्झौता एमसीसी अनुमोदन गरेको भन्दै विभिन्न दलका कार्यालयमा आगजनीको प्रयास भएको छ।

सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नकेपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनीको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।

सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। स्थिति नियन्त्रणबाहिर जाने भएपछि त्यसलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश गरिएको बताइएको छ।

यसअघि दिनभर सुर्खेत बजार तनावपूर्ण बनेको थियो। प्रहरीले युवाहरूको आन्दोलनलाई नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो।

दिनभरको प्रदर्शनबाट १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।- नेपाल समय