चौरजहारी अस्पतालले व्यक्तिगत जग्गालाई आफ्नो भनेर दु:ख दियो: खिम बहादुर गिरी

रुकुम पश्चिमको चौरजहारी स्थित मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित चौरजहारी अस्पतालले ब्यक्तिगत जग्गालाई आफ्नो जग्गा भन्दै  सत्ता र शक्तिको आडमा दु:ख दिएको स्थानिय खिम बहादुर गिरीले विज्ञप्ती मार्फत बताएका छन ।

उनका अनुसार अस्पतालले विसं. २०५१ मंसिरमा स्थानियबाट दानमा प्राप्त भएको जग्गा नामसारि हुन छुट भएको भन्दै कित्ता नं. २६० लाई आफ्नो नाममा ल्याउन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दा हाल पुनरावेदन हुदै सर्बोच्चमा चलिरहेको छ ।

विसं. २०५१ सालमा कमारा वन गोसाईबाट अस्पताललाई प्राप्त भएको भनिएको सो जग्गा कमारा वन गोसाईबाट विसं. २०४९ साल मै काली बहादुर गिरीले खरिद गरेका थिए भने वि.सं. २०७१ सालमा काली बहादुर गिरीबाट खिम बहादुर गिरीले खरिद गरेका थिए ।

हाल सर्बोच्चमा चलिरहेको मुद्दाका बिषयमा बिभिन्न संचार माध्यममा समाचार प्रकाशित गरि अदालतको समेत मानहानी गरेको जग्गा धनी खिम बहादुर गिरीको विज्ञप्तीमा उल्लेख छ ।

बिगत देखि हाल सम्म कित्ता नं. २६० अस्पतालका नाममा नभएको र वि.सं. २०७१ मा ब्यक्तिगत प्रयोजनको लागि खरिद बिक्री गरिएको जग्गाका बिषयमा बुवा जिवित हुदा सम्म अस्पताल नबोलेको र बुवाको मृत्यु पश्चात बिभिन्न लान्छना लगाई बदनाम गर्न खोजिएको स्वर्गीय काली बहादुर गिरीका छोरा हेमन्तराज गिरीले बताए ।

हेमन्त राज गिरीले आफ्नो वुबाले जीवनभर मालपोत कार्यालयमा काम नगरेको र समाचार माध्यममा मालपोत कार्यालयमा कार्यरत रहेको बेला उक्त जग्गा आफ्नो नाममा नामसारी गरीएको भनि प्रकाशित समाचार झुटो भएको बताए ।