कांग्रेस चौरजहारीको पहिलो चरणको जन भेटघाट अभियान सम्पन्न

नेपाली कांग्रेस चौरजहारीले पहिलो चरणको जनभेटघाट तथा सचेतना अभियान सम्पन्न गरेको छ । गत माघ २२ गते चौरजहारी नगरपालिका वडा नं ८  बाट सुरु भएको अभियान आज वडा नं ६ र १२ मा कार्यक्रम गर्दै सम्पन्न भएको नेपाली कांग्रेस नगर कार्यसमिति सचिव लक्ष्मण ओलीले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तुफैल अहमद खा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रतिनिधि तथा नेपाल तरुण दल रुकुम पश्चिमका उपाध्यक्ष जितेन्द्र बुढाथोकी, तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्य लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो  ।

पहिलो चरणको जनभेटघाट तथा सचेतना अभियान समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुफैल अहमद्ले नेपाली कांग्रेस सबै वर्ग,सबै जाति सबै धर्मको सबै भाषाभाषीको साझा पार्टी भएको हुदा सबै खाले प्रलोभन त्यागेर कांग्रेसमा गोलबद्द हुन आग्रह गर्नु भयो । “कांग्रेस भित्रका कसैले गलत गरेका छन् वा  केहि गलत भएको छ भने पनि तपाई हामी मिलेर सुद्दिकरण गर्न सकिन्छ, आउनुस तपाई हामी मिलेर हातेमालो गरौ” प्रमुख अतिथि खा ले भन्नु भयो ।

कार्यक्रममा बोल्दै तरुण दल जिल्ला उपाध्यक्ष जितेन्द्र बुढाथोकीले विकास निर्माणका नाममा स्थानीय सरकारले गरेका अनियमितताका  विरुद्द सशक्त प्रतिवाद गर्नु पर्ने बताउनु भयो । विना हिचकिचाहट, डर धाक धम्की संग नडराई आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी सबै खाले अनियमितताको जवाफ मतपत्र मार्फत  दिनु पर्ने अवस्था आएको बताउदै उपाध्यक्ष बुढाथोकीले सर्वसाधारण जनताहरुलाई  हरेक खाले सर सहयोग गर्न नेपाल तरुण दल रुकुम पश्चिम तत्पर रहेको प्रतिबद्दता व्यक्त गर्नु भयो ।

पहिलो चरणको जन भेटघाट उपलब्धिमुलक भएको र पार्टीको बैठक मार्फत समिक्षा गर्दै आगामी कार्यक्रम तय गरिने सचिव ओलीले जानकारी दिनु भयो । सचिव ओलीले सर्वसाधारण जनता स्थानीय सरकार संग आजित भएका र आगामी  निर्वाचन मार्फत नेपाली कांग्रेसलाई जिताउन आतुर रहेको बताउदै, सरकारी अनुदान, सेवा सुबिधा लक्षित वर्गले नपाउने तर जनप्रतिनिधि र तिनका सिमित आसेपासेको रजाई भएको जनताले प्रष्ट बुझेका छन, यसको जवाफ जनताले कांग्रेस विजयी गराएर दिने बताउनु भयो।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजातन्त्र प्राप्तीमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुको योगदानलाई स्मरण गर्दै कार्यकर्ता एकताबद्द भएर अघि बढ्नु पर्ने बताउनु भएको थियो ।