चौरजहारीमा संचालित रेडियो आफ्नो एफ. एम. छैठौं वर्षमा

रुकुम पश्चिमको चौरजहारीमा संचालित रेडियो आफनो एफ.एम. ९० थोप्लो ४ मेगाहर्ज छैठौं वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम. संचालनको पाँचौ वर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश गरेको हो ।

चौरजहारी र आसपासका क्षेत्रका जनताको सुचनाको भरपर्दो स्रोतका रुपमा रहेको रेडियो, चौरजहारी नगरपालिका वडा नं १ मा रहेको स्टुडियो बाट एक सय वाट क्षमतामा संचालन भैरहेको छ भने अनलाईन मार्फत संसारभर रेडियोको प्रसारण पहुच रहेको छ ।

मंगलबार रेडियोले वार्षिक उत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएका ५० जना विरामीहरुलाई फलफूल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर चौरजहारी अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफूल वितरण गरीएको रेडियोका प्रवन्ध  निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो ।

रेडियोका प्रवन्ध निर्देशक रेग्मीका अनुसार विरामीहरुलाई स्याउ, केरा, सुन्तला र उसिनेको अण्डा वितरण गरिएको थियो भने ६ जना शारिरीक अपांगता भएका व्यक्तिहरुलाई वार्षिक उत्सवको अवसरमा ब्लाङकेट वितरण गरिएको छ ।

मानव विकास तथा सामुदायिक सेवा रेडियो प्रसारण विभागका संयोजक विजय मानन्धर लगायत  चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी, मेडिकल डाईरेक्टर डाक्टर कालेव वुढा लगाएतको उपस्थितिमा फलफूल वितरण गरिएको थियो ।

छैठौं वर्ष प्रवेशका अवसरमा प्रवन्ध निर्देशक गोपाल रेग्मीले निरन्तर सहकार्यको अपेक्षा सहित  विज्ञापनदाता,व्यापारी,बुद्दिजिवी लगायत सम्पूर्ण श्रोताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।