चौरजहारीमा कार्तिक ११ गते देखि विभिन्न विधाका खेलकुद प्रतियोगिता हुदै : फुटबलमा प्रथम पुरस्कार १ लाख माथी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ एरपोर्टको खेलमैदानमा २०७८ कार्तिक ११ गते बिहिबार देखी १ लाख माथीको पुरस्कार राशी सहित बिभिन्न  खेलकुद प्रतियोगीताहरु संचालन हुने भएका छन। नाखिरा युवा क्लबको आयोजनामा संचालन हुने प्रतियोगितामा बिभिन्न ३ विधाका खेल समावेश हुनेछन।

बिगतका वर्षहरु झैँ यस पल्ट पनि  विजया दशमी तथा शुभ दीपावली को अवसरमा खेल प्रेमी तथा दर्शकहरु लाई मनोरञ्जन दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नाखिरा युवा क्लबका अध्यक्ष तेज ब बिस्ट (ओके) ले जानकारी दिनुभयो  ।

खेलकुद कार्यक्रमका संयोजक राजु जिआर का अनुसार खुल्ला पुरुष फुटबल, खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष ब्याडमिन्टन गरि कुल ३ विधामा खेलकुद संचालन हुने छन । खेल भावनाको विकास गराउनका साथै खेलाडीहरुको सीप बृद्दीमा पनि टेवा पुर्याउन निरन्तर खेलकुद प्रतियोगिता संचालन गर्दै आएको आयोजकले यो बर्ष पनि उत्कृष्ट टीम र खेलाडीलाई आकर्षक पुरुष्कार प्रदान गर्ने घोषणा गरको छ । फुटबलमा विजेता टीमलाई  प्रमाण पत्र र मेडल सहित रु. १,०१,१११को पुरस्कार घोषणा गरेको आयोजकले उपविजेता टीमलाई  रु.५१,१११ प्रदान गर्ने बताएको छ । यसैगरि भलिबलमा विजेता टीमले  प्रथम पुरस्कार रु.२५,००० दोस्रो  पुरस्कार रु.१५,००० र तेस्रो  पुरस्कार रु.५,००० प्राप्त गर्ने छन भने खुला पुरुष ब्याटमिन्टन तर्फ विजेताले नगद रु. १५,००० र उपविजेताले रु. ८,०००  प्राप्त गर्ने छन । फुटबल, भलिबल र ब्याडमिन्टनमा दर्ता शुल्क भने क्रमश: १०.०००, ३,००० र २,००० तोकिएको छ । कार्यक्रममा बिभिन्न खेलका उत्कृष्ट खेलाडीलाई समेत पुरुस्कृत गरिने आयोजकले बताएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगीसकेको छ, कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्न आयोजक टीम लागिरहेको हुदाँ खेलकुद कार्यक्रम सौहार्दपूर्ण हुने र खेल भावना विपरीत जाने छुट कसैलाई नहुने कार्यक्रम का ब्यबस्थापक तेज बिस्ट र केशब राज गिरिले बताउनु भयो। फुटबल प्रतियोगितालाई सौहार्दपूर्ण वातावरमा सम्पन्न गराउने जिम्मेवारी सहित एन. वाई. सी.ले सागर आचार्य लाई फुटबल, मोहन बिकलाई भलिबल र खिम गोंसाई लाई ब्याडमिन्टन प्रतियोगिता संयोजक तोकेको छ ।

खेलकुदमा केहि विकृतीहरु देखिएका भए पनि हामीले आयोजना गर्ने खेलकुदमा त्यस्तो हुने छैन, नीति नियम र अनुशासनमा  रही सम्पूर्ण खेलाडीले खेल कौशल प्रदर्शन गर्ने कुरामा आफु विश्वस्त रहेको एन.वाई सी. का अध्यक्ष तेज बिष्ट (ओके)ले बताउनु भयो। बिष्टले भन्नु भयो “चौरजहारीमा यो एउटा खेलकुदको महोत्सव जस्तै कार्यक्रम हो,केहि प्राबिधिक कारणले धेरै खेल र खेलाडी समेट्न नसके पनि सबैको साथ सहयोग भयो भने आउदा बर्षहरुमा जति सक्यो धेरै विधाका खेल समेट्न कोशिस गर्ने छौ ।”

कार्तिक ११  बिहिबार  देखि संचालन हुने खेलकुद कार्यक्रम कार्तिक १६ गते  मंगलबार समापन हुनेछ ।