जुम्लामा डाँफे लेकमुनिकाे च्यारेचाैरलाई मेडिकल हब बनाइदै

जुम्ला खलंगाकाे सिरानमा अवस्थित सुन्दर च्यारेचाैरलाई मेडिकल हब बनाउने तयारी थालिएको छ। जुम्लामा एम विविएस शुरु भए सँगै च्यारेचाैरमा शैक्षिक भवनहरु निर्माण भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर २६ गते एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरु उद्धाटनपछि मेडिकल हव बनाउने तयारी थालिएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट छ किलोमिटर टाढा च्यारे चौरमा एमविविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरेकाे छ ।

उपकुलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठानले एमविविएस शुरु गरेपछि मेडिकल हवको रुपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार अव च्यारेचौरलाई प्रतिष्ठानको दीर्घकालिन योजनानुसार मेडिकल हवको रुपमा विस्तार गरिने छ । एमविविएस लगायतका कार्यक्रमहरु अध्ययन अध्यापन गराउन चन्दननाथ नगरपालिका ३ का स्थानीयको सहयोगमा प्रदान गरिएको निःशुल्क जग्गाको उक्त स्थान च्यारेचौरमा पहिलाे चरणमा भवन बनाउन सुरु भइसकेकाे छ । रसुवा कम्पनीले शुरुवात गरेको सो भवन स्थानमा २३ वटा भवन बन्नेछन् ।

डाँफे लेक नजिक रहेको सो क्षेत्रमा च्यायारे क्षेत्रमा संसारकै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव हुने उक्तिकै सम्भावना छ । हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने छन् । रजिष्ट्रार नृपेन्द्र महतका अनुसार च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीनसय रोपनी दर्ता भइसकेको छ । सोही क्षेत्रमा शैक्षिक भवनहरु ठूलो मात्रामा लगाईने योजना नेपाल सरकारका समक्ष पेश गरिएको छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शैयाको अस्पताल क्षेत्रमा अहिले एमविविएस लगायतका कक्षाहरु सञ्चालन भईरहेका छन् । वर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । उनका अनुसार राष्ट्रपति भण्डारीले उद्धाटन भएकाे भवन च्यारेचौरमा नबनेसम्मका लागि त्यही अध्यापन हुने छ । पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापनापछि स्वास्थ्य क्षेत्रमा परिर्वतन हुन थालेको छ ।