कर्णालीको कथामा ‘बुलाकी’ बन्ने,-सुरक्षा, नरेन र विराज अनुबन्ध

लक्ष्मण सुनारको निर्देशनमा कर्णालीमा अहिले सम्म कायमै रहेको जारी प्रथामा आधारित भएर निर्माण हुन लागेको फिल्म ‘बुलाकी’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् । उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताएकी छिन् । फिल्मको मुल कथा नै उनको वरीपरी घुम्नेछ ।

कात्तिकबाट छायांकन सुरु हुने यस फिल्ममा नरेन खड्का र विराज विस्ट पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोेखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने फिल्मको अधिकांश छायांकन डोल्पामा हुनेछ । कर्णालीको भाषामा बन्ने यस फिल्मको निर्मातामा मोति विष्ट र गोपाल विस्ट छन् भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् ।

शिव ढकालले खिच्ने फिल्मको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनाउन लागेको जानकारी दिए । फिल्मले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताए ।

रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । फिल्मले यही विषयलाई उठान गर्न लागेको हो । अभिनेता नरेन खड्काले पहिलो पटक फिल्ममा आफूले फरक भूमिकामा अभिनय गर्न लागेको बताएका छन् ।