‘कुडा’ कर्णालीका

कर्णाली पारि विद्यालयका कालोपाटीमा कोरिएका छन्
सफेद चकले केही अक्षरहरू
र
एकै स्वरमा ठूलो आवाजमा घोकाउँदै छन् मास्टरले ‘नदीबाट बिजुली बत्ती निकाल्न सकिन्छ…!’
तर
घर फर्किंदा बाटोमा ती बाबु-नानीहरू
कर्णालीको किनारामा बसेर एकोहोरो
कर्णालीलाई हेर्दै सम्झिरहन्छन्
घरको खुट्किलोमा झुन्ड्याएको लालटिन,
कुनै कोठाको कुनामा लडिरहेको बेवारिसे टुक्की
र अँगेनाको डिलमा धुँवा को मुस्लो
अनि अँध्यारो सँग युद्ध गरिरहेकी वृद्ध आमा
र भनिरहेछन् ‘…हाम्मा मास्टर गलत पढाउँदा रहछन् !
यो कर्नाली नदी हो !
यसले बिजुली बत्ती हैन, मडा(लाश) बगाउँछ,
खुसी बगाउँछ र हाम्रा सपना बगाउँछ …!’
यत्तिकैमा बतास सँगै बाटो हिँडेका बटुवाहरूले बोकेको रेडियोको आवाज कान सम्म ठोक्किन्छ
‘३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको खबर प्राप्त भएको छ…।’
एकैछिनमा उनीहरूको आँखा अगाडिको नीलो कर्णाली बिस्तारै धमिलिँदै जान्छ…!
धमिलिँदै जान्छ….!
-प्रकाश’प्रकालिकोटश’

हेलो कर्णाली । २७ पुष २०७८, मंगलवार १८:३३