
ठूलो मान्छे
बा! म आज साच्चै ठूलो मान्छे बनेको छु
हो बा, मेरा रहरहरुको उचाई आज ५.४ इन्च पुगेको छ।
मेरा जिम्मेवारीको तौल झण्डै ५० के.जी. पुगिसक्यो।
ठूला मान्छेहरुले ‘ठूलो मान्छे’ बन्नु भनेर दिएको आशीर्वाद लाग्यो ‘बा’ मलाई ।
काकाले डाक्टर बन्नु भन्दथे,
काका लाई भन्दिनु मेरा बिरामी परेका परेला जचाउन
अब मलाई अस्पताल जानुपर्दैन।
हो बा, मेरो चोइटै चोइटा परेको मुटु पनि म आफै जोड्न सक्छु।
म ठूलो मान्छे भैसके ।
काकीले निधारमा टिको टासेपछी,
सधैं पाइलट बनेस भनेर टाउकोमा हात बिसाउथिन ।
काकीलाई पनि भनिदिनु आज मैले आफैलाई उडाएर मुगलान पुर्याएको छु ।
बाजे!! तमिले भनेको जसो इन्जिनियर पनि बने।
म आजकल आफैलाई पुर्ने दशतले सपनाहरू देख्छु ।
मास्टरले पनि ठूलो भएर ठुलै मान्छे बन्या भन्दथ्या मास्टर साब!
आज हामी निकै ठूलो मान्छे बनेका छौं
हिजो एउटै बेन्चमा अटाएका साथी आज एउटै देशमा नअट्ने भएका छन् ।
आमाले सधैं ठूलो भएर ज्ञानि बन्नु भन्दथिन।
आमा लाई भन्दिनु म निकै ज्ञानि भयाकोछु।
मैले मेरा दुखहरुलाई चिच्याउनै दिएको छैन।
आँसुहरुलाई पोखिनै दिएको छैन ।
रहरहरु पनि अनुमति मागेर हाँस्दछन् ।
तर, मलाई अब अझै ठूलो हुनुछैन ‘बा’
म एक इन्च मात्रै ठूलो हुँदा अभाव एक फिट तन्किदिन्छ।
म एक बर्ष मात्रै ठूलो हुँदा जिम्मेवारी एक वर्गकिलोमिटर फैलिदिन्छ।
म संगै मेरा दुखहरु, म भन्दा ठूला हुँदै गएका छन्।
म भन्दा कान्छो भए पनि जिम्मेवारी मोटाएर यी काधले वजन थेकिनसक्नु छ।
हो ‘बा’ मलाई अब अझै ठूलो हुनुछैन।
परारै म ठूलो हुँदा आमाको काखमै अटिन।
पोहोरै अलि ठूलो हुँदा घरमै पनि साघुरो भयो।
आज त देशमै पनि नअट्ने भएको छु।
अब अझै ठुलो भए म संसारमै पनि अटाउदिन हो?

हेलो कर्णाली । १७ आश्विन २०७८, आईतवार २०:१७