कविता – बद्लिएकाहरु..

-बिद्याश्री सिंह

बद्लिएकाहरु..

स्वास रहुन्जेलसम्म स्वास हुनेहरुले,
अरु के के फेर्छन जिन्दगीमा?स्वास बाहेक!

सम्बन्धहरु,स्वभाव,सपनाहरू के के?

बाचुन्जेलसम्म,
कहाँ,कहाँ बाडिएर बाचेका हुन्छन्?
बाचेकाहरु!

सम्बन्धहरुमा! साथहरुमा! सपनाहरूमा!यादहरुमा!
रहरहरुमा! कहाँ कहाँ ?

त्यो बेला,
ओसिलो दलानको भुइँमा लम्पसार
पुरानो गुन्द्रीमा,
सजिलै अटाएको हुन्थ्यो,
आमाको माया,बुवाको काख,दाजुका ठुला सपना,
दिज्जुका सुनौला खुशिहरु अनि मेरो आनन्दको बालपन!

आज सुकिलो भुइँका चम्किला भित्ताहरुमा टङ्याएका
पुराना यादहरु मात्रै अटाएका छन् यहाँ,
बुवाको रित्तो काखमा अटाउन कसैको बालपन छैन!
घरमा अटाउन कोही छैनन्।
खरको छानो मुनी हुर्किएका कोमल खुशीहरु,
सिमेन्टको भुइँमा पोखिएपछि,छताछुल्ल भएका छन्।

घर बलियो बन्यो,
सम्बन्धहरु कमजोर बने,
दुबै बद्लिए!

‘सीता’का साना गोडाहरु लाई निकै गाह्रो हुन्थ्यो,
उक्लन हाम्रो घरको सिडि
तैपनि अप्ठ्यारो नभनिकनै उक्लेर भेट्न आउथी

सानो थियो, रुपाको घरको खटिया
रपनि अटाएका हुन्थ्यौ एक हुल दौँतरीहरु!

ठुलो हुन्थ्यो,गाउँपरको खहरे खोला
त्यो पनि निस्फिक्री तरेर जान्थ्यौ।
हात माथी राखेर!

अब हामी एक्लै खहरे तर्न सक्ने भैसक्यौ!
आज तिनै दौँतरीहरु,
टाढै बाट हात हल्लाएर आफ्नोपन देखाउछन्।
एउटै बिस्तरामा निदाएका दौँतरीका आँखा हरुले,
नजरअन्दाज पनि गरेर हिड्छन।
हतारमा कहिलेकाहीँ!

हामी साना रहेनौ,
सम्बन्ध गाढा रहेन,
दुबै बद्लिए!

आज आफ्नो झै लाग्न छोडिसकेका गल्लिहरुमा
एक समय हिडेको थिए म पनि,
समाएर कसैको हात!
अब बिरानो लाग्ने त्यो चौबाटो
जहाँ,
झुकेर हेर्ने हरुका कथा छन्।
हेरेर मुस्कुराउनेहरुका किस्सा छन्।
डराउदै पछ्याउँनेहरुका कुरा छन्।

बद्लिएका नयाँ गल्लिहरुमा,
बिर्सन नसकिने थुप्रै यादहरु छन्।

बाटोहरु बल्दिएर फराकिला भए,
सम्बन्धहरु बद्लिएर साघुरा भए,
दुबै बद्लिए!

एक समय थियो,उसको कुरा धेरै चित्त बुझ्थ्यो,
अर्को समय आयो,उसैको कुराले धेरै चित्त दुखायो,
आज उसको कुराले चित्त दुख्दैन भन्ने कुराले चित्त दुखाउछ!

उ बद्लियो,
चित्त बद्लियो,
दुबै बद्लिए!

बाचेको जिन्दगी अनि बितेको समयलाई
फर्केर नियाल्दा,
‘म’ भेट्छु आफैलाई
आमाको काखमा
कतिका पिठ्युँहरुमा,
कयौं बाटोहरुमा,
कसैको अंगालोमा

आमाको काखमा बद्लिएको थियो मेरो आकार,
बदलिनु भनेको हुर्कनु रहेछ।
समयअनुसार बद्लिएका छन्,मलाई बोक्ने पिठ्युँहरु,
बदलिनु भनेको बाडिनु पनि रहेछ!

कति
बाटो हिड्दा हिड्दै,बद्लिएका छन्,मान्छेहरु!
अनि,
मान्छे बन्न मैले बदलेको छु,कति बाटोहरु!
बदलिनु भनेको गन्तव्य चुन्नु रहेछ।
जुन अंगालोमा हासेको छु,
त्यहीँ अंगालो सम्झेर रोएको पनि छु!
बदलिनु भनेको बुझ्नु पनि रहेछ।

बदलिनु भनेको सधैं सकिनु मात्रै होइन,
सुरुवात पनि हो।
दिन बद्लिएरै,
हिजो आज हुन्छ।
आज भोलि हुन्छ।
बाचुनजेल सबै कुराहरू
उहीँ हुदैनन्,
उस्तै हुदैनन्,
उहीँ संग हुदैनन्।
आखिर बाच्नु भनेको बद्लिनु त रहेछ।
बाच्नलाई बद्लिन जान्नुपर्दो रहेछ।
बाचुन्जेल बद्लिन जान्नुपर्दो रहेछ।

– बिद्याश्री सिंह