काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज सभापतिका लागि दोस्रो चरणको मतदान भयो।

दोस्रो चरणबाट सभापतिको छिनोफानो भएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना सुरू हुनेछ।
पदाधिकारीमा सबैभन्दा बढी चासो महामन्त्रीमा कसले जित्छ भन्नेमा छ। छुट्टाछुट्टै प्यानलबाट तीन जना युवा नेताहरू यसपालि महामन्त्री उम्मेदवार बनेका छन्। गगन थापा दोस्रो पटक महामन्त्रीमा उठेका छन्। यसपालि उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका छन्। शेखरकै प्यानलमा मिनेन्द्र रिजाल पनि महामन्त्रीका उम्मेदवार छन्।
सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन्।
कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेका थिए। दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरिसकेका छन्।
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्भेक्षणलाई आधार मान्ने हो भने कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने देखिन्छ। यही संस्थाले सभापतिका उम्मेदवारले कति मत पाउन सक्छन् भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा लगभग मिलेको छ।
फ्याक्ट्स नेपालको सर्भेक्षणमा सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको थियो।
पहिलो चरणको अन्तिम मत परिणाममा देउवाले २२५८ (४८.२५), शेखरले १७०२ (३६.३७), सिंहले ३७१ (७.९) र निधिले २५० (५.३४ प्रतिशत) मत पाए।
अन्तर्राष्ट्रिय स्तरका सर्भेक्षणहरूमा पनि अन्तिम परिणाम र सर्भेक्षणको नतिजा तीन प्रतिशत तल-माथि हुनुलाई स्वभाविक मानिन्छ।
फ्याक्ट्स नेपालको सर्भेले महामन्त्रीमा गगन ले ४५, विश्वप्रकाशले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको छ।
कसरी गर्यो फ्याक्ट्स नेपालले सर्भेक्षण
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सिइओ हुन्, मनीष झा। उनले यो संस्था सन् २०१२ मा दर्ता गराएका थिए।
‘हामीले संस्था दर्ता गर्नुअघि नेपालमा रिसर्च गर्ने अरू संस्थाहरू कति छन् भनेर पनि रिसर्च गरेका थियौं,’ झाले भने,‘त्यतिबेला नेपालमा ४१ वटा रिसर्च संस्था रहेछन्। उनीहरूले डाटाहरू आफ्ना क्लाइन्टलाई मात्र दिँदा रहेछन्, आममानिसलाई दिँदा रहेनछन्।’
त्यसपछि आफूहरूले उनीहरूले नगरेको काम गर्ने योजना बनाएको झाले बताए। मिडियाहरूसँग सहकार्य गरेर उनीहरूले विभिन्न विषयमा गरिएका रिसर्चका विवरण सार्वजनिक गर्न थाले।
२०७० सालको चुनावमा उनीहरूले देशभरिका विभिन्न ५२ निर्वाचन क्षेत्रमा सर्भे गरे। संकलित डाटाले देखाउने ट्रेन्डबारे कार्यक्रम बनाए।
‘सुरूमा हामीले एभिन्युजलाई अनुरोध गर्यौं। उनीहरूले सुरूमा दुईटा सोमात्रै दिए। काठमाडौं १० मा प्रचण्ड हार्दैछन् भन्दा एभिन्युजका कर्मचारीले मलाई तपाईंलाई मार्छन्, लुक्नुस् भनेका थिए,’ मनीषले सम्झिए,‘मैले मनगढन्ते कुरा गरेको थिइनँ। जे डाटाले देखायो त्यसैको विश्लेषणमात्रै गरेको थिएँ।’
संविधान सभाको चुनावमा उनीहरूले गरेको सर्भे धेरै क्षेत्रमा मेल खायो। त्यसपछि उनीहरूको विश्वासनीयता पनि बढ्यो।
त्यसपछि मनीषले विभिन्न चुनावमा उम्मेदवारहरूका लागि सर्भेक्षण गर्ने र उनीहरूलाई रणनीति पनि बनाइदिने गरे।
‘भवन भट्ट एनआरएन अध्यक्ष लड्दा, २०७४ सालमा प्रदीप गिरिका लागि पनि मैले नै रणनीति बनाएको हो,’ मनीषले भने,‘उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठदेखि पछिल्लो समय नाडाका अध्यक्ष ध्रुव थापाको चुनावी रणनीतिमा पनि हामीले काम गर्यौं।’
फ्याक्ट्स नेपालले तीन किसिमका रिसर्चहरू गर्दै आएको छ। उद्योग वाणिज्य महासंघसँग मिलेर रिटेल अडिट, आफ्ना ग्राहकहरूको आवश्यकता अनुसार कुनै विशेष विषयमा केन्द्रीत अनुसन्धान र सार्वजनिक चासोका विषयमा।
कांग्रेस महाधिवेशनका लागि आफ्नै खर्चमा सर्भे गरेको मनीषले बताए।
‘हामीले कांग्रेसको १३ औं महाधिवेशनमा पनि सर्भे गरेका थियौं। कोषाध्यक्षबाहेक सबै पदमा हाम्रो सर्भेक्षण अन्तिम नतिजासँग मिलेको थियो। तर त्यतिबेला हाम्रो त्यति चर्चा थिएन,’ उनले भने,‘यसपालि पनि केही साथीहरूले गर्नुपर्छ भने। मलाई पनि रिसर्चको संस्कृति बनाउनु पर्छ भन्ने लाग्यो। अनि सुरू गर्यौं।’
कांग्रेस महाधिवेशनको सर्भे गर्न २३ जना कर्मचारी दुई दिनसम्म खटिएका थिए। उनीहरूले एपको प्रयोग गरी डिजिटल माध्यमबाट डाटा इन्ट्री गरेका थिए।
शनिबार १७ सय र आइतबार ४ सय जनाबीच सर्भेक्षण गरिएको थियो।
‘हामीले उत्तरदातालाई लिंग, भुगोल र उमेरका हिसाबले तीन भागमा बाँडेका थियौं,’ मनीषले भने,‘सबै भुगोलका, सबै उमेर समूहका महिला-पुरूष महाधिवेशन प्रतिनिधिलाई स्याम्पल बनाएका थियौं।’
सोमबार दिउँसो नै सर्भेक्षणको परिणाम आफूहरूले तयार पारे पनि चुनाव प्रभावित नहोस् भनेर राति पौने १ बजे सार्वजनिक गरेको उनले बताए।
सभापतिमा उनीहरूले गरेको सर्भेक्षण लगभग मिलेपछि धेरै मनीषलाई धन्यवाद र बधाई दिइरहेका छन्। महामन्त्रीमा भने विश्वप्रकाशको मत मिल्दैन कि भन्ने कतिको आशंका छ।
मनीष भने महामन्त्रीमा पनि आफ्नो सर्भेक्षणको नतिजा र अन्तिम नतिजा लगभग उस्ताउस्तै आउनेमा विश्वस्त छन्।
‘हामीले सर्भेक्षण गर्दा गगन थापाको अघिल्लो दिनभन्दा प्यानल घोषणा भएपछि मत अलि कम देखिएको थियो तर विश्वप्रकाशको दुबै दिन उस्तै थियो,’ मनीषले भने,‘त्यही भएर म त मिल्छ भन्नेमा ढुक्क छु। फेरि रिसर्च भनेको सम्भावना यस्तो हुन्छ भन्ने देखाउने हो। कहिलेकाहीँ नमिल्न पनि सक्छ।’
‘सेतोपाटी’बाट

हेलो कर्णाली । २८ मंसिर २०७८, मंगलवार १९:५४