दाङ तुलसीपुरका रामबहादुर वलीको हत्यामा संलग्न मध्येका चार जनालाई जन्मकैद

तुलसीपुर – दुई वर्षअगाडि दाङको तुलसीपुरका रामबहादुर वलीको हत्या काण्डमा संलग्न रहेकामध्ये चार जनालाई जन्मकैद (२५ वर्ष) को सजाय तोकिएको छ।

दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले तुलसीपुर उपमहागरपालिका वडा नं. १२ कचिलीका २१ वर्षीय ‘पाटेबाघ’ भनिने रामबहादुर वलीको संगठित ज्यान मुद्दाका अभियुक्तमध्ये तुलसीपुर ११ बेलटाकुराका ‘बिक्की’ भनिने विवेकसिंह ठकुरी, सोही ठाउँका भरत शाही, रमेश केसी र शौरभ मल्ललाई जन्म कैदको फैसला भएको छ। साथै पीडित परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउन आदेश गरेको छ।

उक्त संगठित ज्यान मुद्दा अन्य पाँच जना अभियुक्तमध्ये बेलटाकुराका तेजेस पिएम (पुन मगर), अमृत वली, सुन्दर बस्नेत, सरोज बुढा मगर र शुभम शर्माको हकमा सजाय निर्धारण गर्नका लागि मंसिर २४ गते पेसी तोकिएको पनि अदालतका सूचना अधिकारीले हेलो कर्णालीलाई जानकारी दिए।

रामबहादुरमाथि २०७६ साल असार २८ गते दिनदहाडै तुलसीपुर-सितलपुर सडक अन्तर्गत जनबहादुर चोकमा खुकरी, खुडा लगायतका धारिलो हतियार प्रहार गरी भएको सांघातिक आक्रमण भए पछि उपचारका क्रममा भारतको लखनउमा असार २९ गते मृत्यु भएको थियो। हत्यापछि उनका बुवा पूर्णबहादुर वलीले नेपाल सरकारको तर्फबाट मुद्दा दायर गरेका थिए।