राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, अन्य पदाधिकारीमा थापा पक्षकै धेरै विजयी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए।

राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी भए। दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए। थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए। तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए।

महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन्।

यस्तै तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणा सर्वाधिक २२२१ भोट ल्याएर विजयी हुँदा थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी भए।

महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।