गठबन्धनका दलसँग सल्लाह गरेर निकास निकाल्छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई लिएर जारी विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिनुभएको छ । नेपाल बार एसोसियसनको ज्ञापनपत्र बुझ्दै आज प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरुसँग छलफल गरेर एक÷दुई दिनभित्र निकास दिने बताउनुभएको हो ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमन हुनुपर्ने १७ बुँदे आरोपसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ । बारका अध्यक्ष, पूर्वअध्यक्ष र सर्वोच्च बारका पदाधिकारीसहित बालुवाटार पुगेको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो ।

प्रधानन्यायाधीश जबराले अदालतमा बिचौलिया परिचालन गरी भ्रष्टाचार बढाएको र न्यायिक विचलन हुने फैसला गरेकाले राजीनामा माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बारले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

प्रधानमन्त्री देउवाले अदालतभित्रको कुरा सकभर उतै मिल्नुपर्ने आफूहरुको मत रहेको तर अब यसमा गठबन्धनको साझा धारणा आउने र निकास दिनेगरी आउने उहाले बताउनुभयो ।

‘तपाईंहरुले उठाउनुभएको कुरा हेरिरहेको छु । बारले गरेको आन्दोलनको बारेमा पनि मैले पनि बुझेको छु,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यो धेरै लामो जान हुँदैन । गठबन्धनमा छलफल गरेर एक÷दुई दिनमा निकास आउँछ ।’

बारले कात्तिक ११ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित आन्दोलन गर्दै आएको छ । जबराले भने सडकबाट दबाब दिएकै आधारमा राजीनामा नदिने टिप्पणी गर्नुभएको छ ।

बारले प्रधानमन्त्री देउवालाई भेटेर महाअभियोगको प्रक्रिया अघि बढाउन भनेको छ । संसद् बन्द रहेकोले तत्काल खुलाएर महाअभियोगको प्रक्रिया सुरु गर्न बारका पदाधिकारीहरुले ध्यानाकर्षण गराएका थिए । बारले यसअघि नेकपा (एमाले), माओवादी केन्द्र लगायतका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको छ ।