
बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ।
अहिले बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो।
आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल हुने स्रोतले जनाएको छ।
यसअघि सोमबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।
उनीहरूबीच संवैधानिक व्यवस्थाअनुसार नै तीनै तहको निर्वाचन गर्ने कुराकानी भएको थियो।
यस अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन ।
सत्तागठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन्। प्रधानमन्त्री पनि उक्त समितिको बैठकमा उपस्थित हुने गर्छन्।
समन्वय समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन्। दुई महिनाको अन्तरमा संयोजक परिवर्तन गर्ने सहमतिअनुसार समिति बनेको थियो।
आजको बैठकमा संघीय संसद सुचारू गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका रणनीतिबारे पनि छलफल हुने स्रोतले जनाएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संघीय संसद अवरूद्ध गर्दै आएको छ।

हेलो कर्णाली । ४ माघ २०७८, मंगलवार ०९:२८