आज देशभरमा माओवादी केन्द्रको वडा सम्मेलन

नेकपा माओवादी केन्द्रले आज शनिबार देशभर एकैपटक वडाहरुमा वडा सम्मेलन गर्दैछ । यही सम्मेलनमार्फत नै नेतृत्व चयन हुने माओवादीले जनाएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले सबै वडाहरुमा सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका छन् ।

माओवादीले पनि सर्वसम्मतमा जोड दिएको छ । धेरैजसो वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीले निर्देशन दिएको बुझिएको छ । यसअघि नेकपा एमालेले पनि सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो ।

माओवादीले पहिलो पटक वडा सम्मेलन एकैपटक गर्न लागेको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसकै लागि तयारी तीव्र पारिएको छ ।

देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको श्रेष्ठले बताए । आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरुसमेत गठन गरेको छ।

वडा सम्मेलन सकिएपछि मंसिर ११ गते देशभरका पालिकामा एकैपटक पालिका सम्मेलन हुनेछ ।

त्यस्तै मंसिर २५ गते एकैपटक प्रदेश सम्मेलन हुनेछ । राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक बनाउने योजना बनाएको माओवादीले आठ लाख संगठित सदस्यहरुको सदस्यता नविकरण गरेको दाबी गरेको छ ।