क्षतिपूर्तिको माग सहित अनिश्चितकालिन यातायात बन्द

गत मंसिर २० गते मुसीकोट नगरपालिका वडा नम्बर २, मा भएको बस दुर्घटनामा परी मृत्यु भएका आफन्तले क्षतिपूर्तिको माग गर्दै रुकुम पश्चिममा यातायात बन्दको आह्वान गरेका छन  । आज विहान सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि सवारी साधनहरु चलेका छैनन् । आफूहरुका माग सम्बोधन गर्न वेवास्ता गरिएको भन्दै बस दुर्घटनाका मृतकका आफन्त तथा घाइतेहरुले यातायात बन्द गराएका हुन्। उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए ।

प्रहरीले दुर्घटनापछि कुनै पनि प्रक्रिया नथालेको भन्दै पिडितहरु आक्रोशित भएका छन् । फागुन २० गते रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घटनाको विषयमा ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायबाट माग सम्बोधन नभएपछि पिडितहरु आन्दोनमा उत्रेका हुन ।

दुर्घटनाका घाइते शुशिल थापाले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताउनुभयो । दुर्घटना भएको लामो समयसम्म पनि सम्बन्धित निकायले ध्यान नदिएपछि आन्दोलनमा आउन बाध्य भएको थापाको भनाई छ ।

यस्तै प्रहरीले सिस्ने हिमाल यातायात प्रा.लि र चालकलाई सम्पर्कमा नल्याएको, कानूनी कारबाहीको प्रक्रिया अगाडी नबढाएको पिडितहरुको आरोप छ ।

मंगलबार पिडितको तर्फबाट स्थानीय टेकबहादुर बस्नेत, भानु केसी, चोपबहादुर केसी, कालिबहादुर महतारा, शुशिल थापा, मोहन केसी र विरवल केसीले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै यातायात बन्दको घोषणा गरेका थिए । विज्ञप्ती मार्फत उनीहरुले यातायातका साधन नचलाएर सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।