अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु, १६ बढी घाइते

अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य १६ जना घाइते भएका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका– १ कुईकामा आइतबार राति से १ च १७६३ नम्बरको बोलेरो जिप जन्ती गएर फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

ज्यान गुमाउनेमा पन्चदेवल विनायक– २ का १४ वर्षीय जीवन न्यौपाने, सोही ठाउँका १८ वर्षीय सर्प बोहरा र वडा नम्बर– ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइतेमध्ये पन्चदेवल विनायक– २ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगञ्ज लगिएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।