तीन महिनामा मन्त्रिमण्डलले पूर्णता पाउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको ८९ दिनमा देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

बालुवाटार स्रोतका अनुसार शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र चार बजे सपथ खुवाउने योजना प्रधानमन्त्री देउवाको छ। बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएको थियो। सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार–चार मन्त्रालय पाउने भएका छन्।

मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ। एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ।

यस्तै सहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पनि एकीकृत समाजवादीले नै पाएको छ। कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत पाएको छ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने छ।

को–को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद् विस्तारको तयारीसँगै केही दल मन्त्री छान्ने अन्तिम तयारीमा छन् भने केही दलले मन्त्री छानिसकेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउँदा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मन्त्री छान्ने अन्तिम कसरतमा जुटेका छन्।

नेपाली कांग्रेसले अहिलेसम्म तीन मन्त्री र एक राज्यमन्त्री बनाइसकेको छ। कांग्रेसका तर्फबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र डा. नारायण खड्का परराष्ट्रमन्त्री बनेका छन् भने उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन्। अब कांग्रेसले पाँच मन्त्री बनाउन पाउनेछ। तर, मन्त्रीको टुंगो भने लागिसकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति समेत रहेका देउवासँग तीन मन्त्री मागेका छन्।

पौडेलले आफू, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई एक–एक मन्त्री दिन आग्रह गरे पनि देउवाले मानेका छैनन्। देउवा पौडेललाई दुई मन्त्री दिन तयार छन्।

यस्तै नेता कृष्णप्रसाद सिटौलालाई एक मन्त्री दिनुपर्ने बाध्यतामा देउवा छन्।कांग्रेसबाट संस्थापन समूहबाट पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, भरत शाहलगायत मन्त्रीका आकांक्षी छन्। यी मध्ये भुसाल मन्त्री बन्ने सम्भावना धेरै रहेको बताइन्छ।

यस्तै संस्थापन इतरबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू, विजय यादव, तेजुलाल चौधरीलगायत मन्त्रीका आकांक्षी छन्। सिटौलाको कोटाबाट भने उमाकान्त चौधरी मन्त्री बन्ने पक्का जस्तै छ।

माओवादी केन्द्रले यसअघि पम्फा भुसाललाई ऊर्जा र जनार्दन शर्मालाई अर्थमन्त्री बनाइसकेको छ। अब माओवादीबाट अब देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने छन्।

पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, गहतराजले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने भएका छन् भने श्रेष्ठलाई खानेपानी तथा सरसफाई मन्त्रालय दिइने तयारी भएको छ।

यस्तै एकीकृत समाजवादीले विरोध खतिवडा सहरी विकास मन्त्री, पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री,

प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने तयारी गरेको छ। समाजवादीले राज्यमन्त्रीका रूपमा भवानी खापुङलाई सरकारमा पठाउने भएको छ।

मन्त्री छान्न जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक बस्दै छ।

यसअघि बुधबार सम्पन्न कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरूको नाम छान्न तीन नेतालाई जिम्मा दिने निर्णय गरेको थियो। तीन नेताको बैठक बिहान ९ बजे बस्ने र ११ बजे मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी भएको छ।

महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम मन्त्री बन्ने चर्चामा छ। यस्तै महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र यादवको कित्तामा आइपुगेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी लगायतका सांसदले समेत आकांक्षा राखेका छन्। प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव भने मन्त्री नबन्ने भएका छन्।