कांग्रेसले हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने

नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ।

बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका पदाधिकारी र पार्टी पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

दसैंअगाडि नै हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सेतोपाटीलाई जानकारी दिए। पूर्ववत कार्यतालिकाअनुसार नै हिमाली जिल्लामा अधिवेशन हुनेछन्।

हिमाली भेगमा २१ जिल्ला छन्। यीमध्ये रसुवा र डोल्पामा अझै क्रियाशिल सदस्यता विवाद हुँदा वडा अधिवेशन नै अनिश्चित छ। यी क्षेत्रमा पनि छिट्टै वडा अधिवेशन गर्ने तयारी छ।

वडा अधिवेशन भएका र अब असोज ९ मा पालिका अधिवेशन हुने हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन हुनेछ। कांग्रेसले ७७ मध्ये ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

हिमाली जिल्लामा हिउँ पर्न सक्ने भएकोले कांग्रेसले दसैंअगाडि नै जिल्ला अधिवेशन गर्न लागेको हो। हिमाली क्षेत्रका कांग्रेसले दसैं अगाडि नै अधिवेशन गर्ने वातावरण बनाइदिन आग्रह गरिरहेका थिए।

पहाड र तराई भेगमा भने दसैंपछि जिल्ला अधिवेशन हुनेछ। हिमाली भेगमा कहिले जिल्ला अधिवेशन गर्ने भन्ने मिति निर्वाचन समितिले सूचना निकालेर तय गर्नेछ। तर यसअगाडिको कार्यतालिका कार्यान्वयन भए असोज १८ मा जिल्ला अधिवेशन हुनेछ।

कांग्रेसमा १३ जिल्लाको वडा अधिवेशन भने अन्यौलमा परेको छ।क्रियाशील सदस्यताको सूची सभापति शेरबहादुर देउवाले निर्वाचन समितिमा नपठाउँदा निर्वाचन समितिले नामावली सार्वजनिक गर्न सकेको छैन।