नेपाल पत्रकार महासंघ रुकुमको आयोजना र सूचना तथा प्रसारण विभागको समन्वयमा सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न असोज २, ३ र ४ गते तीन दिने घुम्ती शिविर सञ्चालन हुने भएको छ ।


नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीका अनुसार रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा सञ्चालन हुने घुम्ती शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गरिने भएको हो ।
अध्यक्ष केसीका अनुसार उक्त सिविरमा सूचना तथा प्रसारण विभागबाट रुकुम पूर्व र रुकुम पश्चिमका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न पत्रकारिता तालिम समेत सञ्चालन हुने छ। उहाँले सो अवसरमा विभागका सेवा र कार्यभारका बारेमा पत्रकारबीच अन्तरक्रिया गरिने जानकारी दिनुभयो । ‘दूरदराजबाट काठमाडौं जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सूचना तथा प्रसारण विभागको समन्वयमा सिविर गर्न लागेका हौँ,’ उहाँले भन्नुभयोे ।
पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनका लागि सञ्चार प्रतिष्ठानबाट पाएको नियुक्ती पत्र, सिफारिश, श्रमजीवी दरबन्दी विवरणलगायत आवश्यक कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने विभागले जनाएको छ ।

हेलो कर्णाली । २ आश्विन २०७८, शनिबार ०९:०२