राष्ट्र बैंकले ४ असोजबाट नयाँ नोट वितरण गर्ने

नेपाल राष्ट्रबैंकले यस वर्ष दसैँ सुरु हुन केही समयअगाडिदेखि नै नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत यही ४ असोजबाट नयाँ नोट सटही सुविधा दिइने भएको छ । उपत्यकाबाहिरका लागि भने राष्ट्र बैंकको प्रेस कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने भएको हो ।

राष्ट्र बैंकले करिब ३० देखि ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ । ‘हामीले ५० अर्बजति रुपैयाँ सटहीका लागि तयारीमा राखेका छौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने, ‘करिब ३० देखि ३५ अर्ब वितरण हुने अनुमान गरेका छौँ ।’

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सटही सुविधा दिने भएको छ ५, १०, २०, ५० र १ सयका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा दिने भएको छ करिब १० देखि १२ अर्ब रुपैयाँका सानादरका नोट सटही हुने अनुमान राष्ट्र बैंकको हों । राष्ट्र बैंकले चाडपर्वमा नोटको दुरुपयोग रोक्न नोटका पुर्जा गर्न, जलाउने कार्यमा प्रतिबन्ध लगाएको छ । एउटा नोटका लागि सरदर औसत साढे दुई रुपैयाँ लागत लाग्ने भए पनि नोटहरूको दुरुपयोगकै कारण चाँडै पुरानो हुने र यसले गर्दा मुलुकलाई वार्षिक करिब ३० करोडभन्दा बढी नोक्सान पर्ने गरेको छ ।

दसैँमा नयाँ नोटको वितरणसँगै चलनचल्तीको मुद्रामा भने व्यापकता आउने भएको छ । पछिल्लो समय नेपालीहरूमा नगद ग्राह्यता (साथमा पैसा राख्ने प्रवृत्ति) सामान्य समयमा पनि उच्चदरमा बढेको चलनचल्तीका मुद्रामा भएको वृद्धिले देखाएको छ । यसपटक भने एकै वर्षमा चलनचल्तीको मुद्रामा करिब दुई खर्बले वृद्धि हुने अनुमान छ । असोज ०७७ मा पाँच अर्ब ३१ अर्ब रुपैयाँ चलनचल्तीमा थियो ।