मालपोत कार्यालय रुकुम पश्चिमबाट दिईने सेवा इन्टरनेटले काम नगरेपछि दुई दिन देखि ठप्प भएको छ । मालपोत कार्यालयमा जोडिएको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको इन्टरनेट नचल्दा दुई दिन देखि सबै सेवा ठप्प भएको बताइएको छ ।

कार्यालयबाट हुने सेवाहरु अनलाइनबाट हुने भएपछि इन्टरनेट चलल्दा काम गर्ने समस्या भएको जिल्ला मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख गार्खबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि कार्यालयमा दैनिक करिब ५० बढि सेवाग्राही सेवा लिन आउने भएपनि दुई दिनदेखि इन्टरनेट चलल्दा सबै सेवा ठप्प भएको छ।
यस्तै कार्यालयमा एउटा मात्र इन्टरनेटको सर्भर जडान गरिएको छ । बाहिरबाट समान ल्याउन पर्ने भएकाले केही दिन समय लाग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीले बताएको कार्यालयले जनाएको छ ।
बढ्दो प्रविधिको प्रयोगसँगै पछिल्लो समय सरकारी कार्यालयमा इन्टरनेट मार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।

हेलो कर्णाली । ३० भाद्र २०७८, बुधबार २१:३६