
श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका हुन् ।
उनीमाथि आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको आरोप छ।
विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।
आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको बताईएकाे छ ।
नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।
नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए ।
उनले प्रहरीमा जागिर गरेको १० वर्ष भएको थियाे ।

हेलो कर्णाली । २१ माघ २०८०, आईतवार १२:५९