काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।

सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।
दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेका अनुसार ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो ।
दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । मंगलबार राति सवा ११ बजे सुरु भएको मतगणना बुधबार बिहान करिब साढे २ बजे सकिएको थियो ।
पहिलो चरणको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए । ४ हजार ६ सय ७९ मत खसेकाका देउवाले २ हजार २ सय ५८ (४८ दशमल २५ प्रतिशत), कोइरालाले १ हजार ७ सय २ (३६ दशमलब ३७ प्रतिशत), सिंहले ३ सय ७१ (७ दशमलव ९२ प्रतिशत), निधिले २ सय ५० (५ दशमलव ३४ प्रतिशत) र गुरुङले २२ (शून्य दशमलव ४७ प्रतिशत) मत ल्याएका थिए । ७६ मत बदर भएको थियो । पार्टीको विधानअनुसार सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ ।
पाँचौं पटक प्रधानमन्त्री चलाइरहेका देउवाको कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरु भएको हो । २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा उनी रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलोपटक कांग्रेसको सभापति बनेका थिए ।
२०४८ को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका देउवाले पहिलो पटक २०५७ माघको १० औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

हेलो कर्णाली । २९ मंसिर २०७८, बुधबार ०७:५१