आत्मदाह प्रकरणमा छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिबद्धता जनाए ।

मृतककी श्रीमती नानुका आचार्यले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन् । उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन् ।

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।

गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् ।