निर्वाचन केन्द्रित सबै सुरक्षा बन्दोबस्तीको तयारी पूरा :गृह मन्त्रालय

गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएको हो।

गृहसचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्था सुनिश्चित गरिएकाले निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे। ‘देशका सबै ठाउँका मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त राखिएको छ। नागरिकलाई निर्धक्क भई मतदान गर्न सक्ने वातावरण तयार गर्न सुरक्षा निकाय सक्षम छन्’, सचिव सिंहले भने।

उम्मेदवार, मतदाता, निर्वाचनमा खट्ने कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेको उनले जानकारी दिए। उनले मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सात वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भइसकेका छन्। बैठकमा प्रदेश र जिल्ला स्तरका सुरक्षा निकायसँग, समितिसँग छलफल भएकाले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण बनाउन सुरक्षा निकाय सक्षम रहेको उनको भनाइ छ।

उनले भने, ‘निर्वाचनमा १० हजार ८९२ मतदान स्थल र २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन्। हरेक मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौं। सोहीअनुसार सुरक्षाकर्मी सबै मतदान स्थल र मतदान केन्द्रमा सुरक्षाका लागि खटिइसकेका छन्।’