कांग्रेसको निर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० बाट

नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गर्ने भएको छ ।

कांग्रेसले १० भदौबाट ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

पार्टी नेता एवं सांसद प्रदीप गिरीको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको बताइएको छ ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । १० भदौदेखि पार्टीले दिएको जिम्मेवारी अनुसार कांग्रेसको पोजिसन, कमीकमजोरी लगायत संगठन सुदृढीकरण गर्ने अभियान शुरु भएको बताइएको छ ।