सुर्खेतमा कर्णाली प्रदेश चलचित्र कार्यशाला हुँदै

काठमाडौं – केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो ।

‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो ।

प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिइने छ । जसका लागि नेपाली चलचित्र उद्योगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् ।

कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाह, विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले विशेष कक्षा लिने भएका छन् ।

कार्यशालामा कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक–एकजना प्रशिक्षार्थी समेट्ने एको छ । चलचित्र कार्यशालामा सहभागी विधार्थीहरूले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रूपमा चलचित्र पनि निर्माण गर्नेछन् ।

आयोजक संस्थाका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ ।