‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा रु १५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठ वटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताए।

‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए नागरिकलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ।