देशभर इन्जिनियर आन्दोलित: कर्णालीमा भोली “पेन डाउन”

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुखलाई गत कार्तिक ४ गते अमानवीय व्यवहार गरेको भन्दै काठमाडौं उपत्यका लगायत देश भरका  ईनिजनियरहरु आन्दोलित भएका छन् । इन्जिनियर राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने  सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कारवाहीको माग राख्दै इन्जिनियरहरू आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल इन्जिनियरिंग एसोसिएसनले काठमाडौंमा  र एसोसिएसनका अन्य प्रादेशिक कार्यकारिणी कमिटीले आज सातै प्रदेशमा आज कुशवाहा माथी भएको अमानवीय व्यवहारको बिरोधमा प्रर्दशन गरेका छन् । घटनामा संलग्नलाई कारबाही नभए आन्दोलन झन् कडा बनाउदै लैजाने इन्जिनियरहरुले बताएका छन।‘कथित पार्टीका नाममा कर्मचारी यसरी नै कुटिनेहुन् र सरकार रमिते मात्रै बन्ने हाे भने सरकारले विनियाेजन गरेकाे पूजीगत बजेट कसरी खर्च हुन्छ ?” भन्ने प्रश्न गर्दै इन्जिनियरहरुले कर्मचारीहरुलाई राज्यले सुरक्षाको प्रत्याभुती दिलाउनु पर्ने बताए ।

कर्णालीमा भोलि पेन डाउन

यसैबिच नेपाल इन्जिनियरिंग एसोसिएसन कर्णाली प्रदेश कार्यकारिणी समितिले भोली सोमबार अत्यावश्यक बाहेकका कामकाज ठप्प पार्ने भएका छन । घटनामा संलग्नलाई कारबाही नभए चरणबद्द आन्दोलनका कार्यक्रम घोषणा गरि कडा आन्दोलनमा उत्रिने इन्जिनियर तेज शर्माले बताउनु भयो ।