आईपीएलको उपाधि गुजरात टाइटन्सलाई

इन्डियन्स प्रिमियल लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले उपाधि उचालेको छ।

आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि उचालेको हो।

गुजरातले पहिलो सहभागितामै आईपीएलको उपाधि जितेको हो। आईपीएलको यही सिजनबाट उसले खेल्न थालेको थियो।

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो। गुजरातको जितमा सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए। कप्तान हार्दिक पान्डय ३४ रन जोडे।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९, याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडेका थिए। कप्तान सन्जु सामसन १४ रनमा आउट भए। गुजरातका हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट हात पारे।

पहिलो क्वालिफायरमा राजस्थानलाई हराएको गुजरातले फाइनलमासमेत पराजित गर्दै आईपीएलको उपाधि उचालेको हो।