कांग्रेसका तर्फबाट चौरजहारी नगर प्रमुखका उमेद्वार प्रेम बहादुर ओलीको संक्षिप्त परिचय

  आसन्न स्थानीय तह निर्वाचनमा हरेक पार्टीले आ-आफ्ना तर्फबाट उमेद्वारी मनोनयन संगै चुनावी कार्यक्रममा तीब्रता दिएका छन। आफ्ना पार्टीका उमेद्वारलाई विजयी बनाउन नेता कार्यकर्ता विभिन्न रुपमा सक्रिय भएका छन। चौरजहारीमा बाहिरी प्रचार प्रसारका हिसाबले अघिल्ला निर्वाचनहरु भन्दा शान्त र सौहार्दपूर्ण देखिएको चुनावी तयारी आन्तरिक रुपमा भने गरमागर्मी नै रहेको बुझ्न सकिन्छ ।

स्थानीय तह निर्वाचनको सेरोफेरोमा हामीले यसपटक कांग्रेस निकट शुशील खड्काको सहयोगमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख (मेयर) पदमा उमेद्वारी दिनु भएका प्रेम बहादुर वलीको संक्षिप्त परिचय प्रस्तुत गरेका छौ ।

प्रेम बहादुर वलीको संक्षिप्त परिचय:

नेपाली कांग्रेसका तर्फबाट स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदका उमेद्वार प्रेम बहादुर वली लामो समय देखि सामाजिक र राजनीतिका रुपमा सक्रिय हुनुहुन्छ । चौरजहारी नगरपालिका वडा नं १ का स्थाई बासिन्दा प्रेम बहादुर वली साविकको वडा न १ खहरेमा २०२१ फागुन ७ गते जन्मिनु भएको हो । विभिन्न सरकारी विद्यालयमा प्राथमिक देखि माध्यामिक तह सम्मको अध्यन गर्नु भएका वलीले २०३९ मा चौरजहारीबाट एस. एल. सी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाट कानुनमा प्रवीणता प्रमाण पत्र तह सम्मको औपचारिक अध्यन पुरा गर्नु भएको छ ।

युवा अवस्था देखि नै सचेतता पूर्वक सामाजिक कार्यमा रुची र संलग्नता राख्नु हुने वलीले २०४४- २०४८ सम्म खहरे सामूदायिक बन समितिको सचिवको रुपमा कार्य गर्नु भएको थियो । २०४६ र ०५३ मा खहरे प्राथमिक विद्यालय व्यबस्थापन समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्नु भएका वलीले २०६३ देखि ०६५ सम्म शीतल उच्च् माध्यामिक विद्यालय व्यबस्थापन समिति अध्यक्षको समेत भूमिका कुशलता पूर्वक निर्वाह गर्नु भएको थियो ।

२०५६ – ०६२ सम्म उद्योग वाणिज्य संघको उपाध्यक्षमा कार्य अनुभव बटुल्नु भएका वली संग २०६७ साल सम्म निर्माण व्यावसायी जिल्ला समितिमा रही कार्यसम्पादन गरेको अनुभव समेत रहेको छ ।

सामाजिक क्षेत्रको सक्रियता र योग्यतालाई कदर गर्दै नेपाल सरकारले चौरजहारी नगर समितिको अध्यक्षमा रुपमा वलीलाई मनोनित समेत गरेको थियो । २०७१ देखि ०७३ साल सम्म नगर विकास समिति अध्यक्षका रुपमा चौरजहारी विकास निर्माणका खाका तयार गर्ने देखि कार्यान्वयनमा समेत संलग्न रही समुन्नत चौरजहारी निर्माणको अभियानमा निरन्तर लागिरहनु भएका वली हाल नेपाली कांग्रेस चौरजहारी नगर समितिका सभापति रहनु भएको छ ।