कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगरमा यसै आर्थिक वर्षदेखि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेशअन्तर्गत प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतबीच मिर्गौला फेल भएका बिरामीहरुको लागि प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलासिस सेवा विस्तारमा सहकार्य गर्ने समझदारी भएको छ ।
केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने, कर्णाली प्रदेशका अरु विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन गराउनेलगायतका विषयमा सहमति भएको हो।
कर्णाली प्रदेश अस्पताल पछिल्लो समय नेपालका गुणस्तरीय सेवा दिने अस्पतालमध्येमा पर्छ। २५० शय्या क्षमताको अस्पतालबाट आईसीयूलगायत उच्चस्तरीय सेवा प्रदान भइरहेका छन्।
हेलो कर्णाली । ११ चैत्र २०७८, शुक्रबार ११:३५