नेविसंघ र तरुण दलको अध्यक्षमा दुजाङ र विद्वान, शेखर समूहको प्रतिवाद गर्ने निर्णय

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नयाँ नेतृत्व पाएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सभापतिमा नयाँ नियुक्त गरेका हुन् ।

देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघको सभापतिमा काठमाडौंका दुजाङ शेर्पा र नेपाल तरुण दलको सभापतिमा पर्वतका विद्धान गुरुङलाई नियुक्त गरेका हुन् ।

काँग्रेसका सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्थामा नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको शेखर समूहको बैठकले सभापतिले विना परामर्श गर्ने निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । पार्टीमा परामर्श नगरी सभापति देउवाले भ्रातृ संघहरूको अध्यक्ष नियुक्त गरेकोप्रति बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ ।