संखुवासभा सामूहिक हत्याका आरोपी सार्वजनिक

संखुवासभाको मादी नगरपालिका १ का तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या आरोपमा उनकै भतिज पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको छ ।

गत सोमबार तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। घटनामा तेजबहादुरका बुवा ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका थिए। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि थाहा नपाएका बौद्धमानको दृष्टि र श्रव्य शक्ति कमजोर छ।

तेजबहादुरले आफूलाई ‘होच्याएर’ बोल्ने गरेकाले ‘रिस’ उठेर देख्नेवित्तिकै ‘झोंक’ चलेको प्रहरीलाई लोकबहादुरले बताएका छन्। मलेसियामा बसेर तीन वर्षअघि फर्किएका लोकबहादुर मलेसियामा रहँदा मानसिक स्थिति बिग्रिएपछि नेपाल फर्केका थिए।

प्रहरीले अनुसन्धान गर्दा आर्थिक लेनदेनलगायतको पाटो फेला नपरेको बताएको छ।