कर्णालीका ४ जिल्लामा नेकपा (एमाले)को नेतृत्व टुंगियो

सुर्खेत – कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले)को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिम, सल्यान, डोल्पा र जुम्लामा नेतृत्व चयन भएको हो ।

जस मध्ये रुकुम पश्चिममा नन्दराम देवकोटा, सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत चयन भएका छन् । यी जिल्लाहरूमा सर्वसम्मत अध्यक्ष चयन भएका हुन ।

अधिवेशन चलिरहेका बाँकी चार जिल्लामध्ये सुर्खेत, दैलेख र जाजरकोटमा निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ । प्रदेश राजधानी सुर्खेतको नेतृत्व चयनका लागि आज निर्वाचन भैरहेको छ । सर्वसम्मतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो ।

कालीकोटमा भने शनिबारबाट मात्र अधिवेशन सुरु भएकोले नेतृत्व चयनमा केही समय लाग्ने भएको छ ।

कर्णालीका आठ जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ भने बाँकी रहेका दुई जिल्ला मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ ।