कर्णाली कांग्रेसको सभापतिमा तीन जनाको उम्मेद्बारी

सुर्खेत – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भूपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्लाका हुन् भने भूपेन्द्र र मोतीराज कालीकोटका हुन् ।

यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो । तर, शुक्रबार एकाएक निधि पक्षबाट पनि मोतीराजले उम्मेदवारी दिएका हुन्।

यस्तै, प्रदेशको उपसभापतिमा देउवा पक्षबाट कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल पक्षबाट देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र कृष्ण बहादुर रोकायाले उम्मेदवारी दर्ता गराएका छन् पौडेल पक्षबाट कृष्णबहादुर वीसी र खगेन्द्रबहादुर मल्ल उम्मेदवार छन् । महामन्त्रीमा गोविन्दबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा देउवा पक्षबाट उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँयाकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

पौडेल पक्षबाट नेत्रलाल पौडेल, जयनन्द उपाध्याय र देविकाकुमारी सिंहले उम्मेवदारी दर्ता गराएका छन् ।

नेता निधि पक्षले सभापति र जिल्लाबाट चयन हुने प्रदेश सदस्य पदमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार बमले बताए ।