प्रदेश २ को नाम र राजधानी मंसिर २९ गते टुङ्गो लाग्ने

जनकपुरधाम । प्रदेश २ सभाको ८ औं अधिवेशन आगामी मंसिर २९ गतेका लागि आह्वान गरिएको छ । प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको ८ औं अधिवेशन आह्वान गरेको हो ।

चार दलीय गठबन्धनको सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन सुरु हुन लागेको हो । यो अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा पुनः छलफल हुने बताइएको छ । गठबन्धनको दुई तिहाइको सरकार बने पनि प्रदेशको नाम र राजधानीमा अहिलेबीच सहमति हुन सकेको छैन ।

सभामुख सरोजकुमार यादवले प्रदेशको नाम र राजधानीका लागि सातौँ अधिवेशनमा प्रदेश सरकारलाई रुलिङ गर्नुभएको थियो । तर, पनि अहिलेसम्म दलहरू यो विषयमा सहमत हुन सकेको छैन ।

यसअघि प्रदेशको नाम र राजधानी सम्बन्धी प्रदेश सभामा प्रस्तुत गरिएको प्रस्ताव असफल भइसकेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेको छ ।

प्रमुख प्रतिपक्षी दल बनेको लोसपाले मधेस प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहने प्रतिबद्धता जनाउँदै आएको छ । तर, अहिले सत्तामा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी राजधानीमा सहमत भए पनि प्रदेशको नाममा सहमत हुन सकेको छैन । सत्तामै रहेका माओवादी केन्द्र भने जसपाले नै प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीमा सहमत हुने संकेत गरिसकेका छन् ।

सरकारमा सहभागी कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेशको नाम र राजधानीबारे सत्तारुढ दलबीच अहिलेसम्म छलफल नभएको हेलो कर्णालीलाई बताउनुभयो । प्रदेशको राजधानीको विषयमा दलहरूबीच सहमति भए पनि नामकरणको सवालमा जसपा र कांग्रेसको प्रस्ताव सुरुदेखि नै फरक रहँदै आएको छ ।

प्रदेशको नामकरणलगायतका एजेण्डामा कुनै सहमति वा सम्झौता नभएको मन्त्री यादवले बताउनुभएको छ । मधेस प्रदेशको पक्षमा कांग्रेस पार्टी नरहेको उहाँले बताउनुभयो । मिथिला–भोजपुरा प्रदेश नामकरण हुनुपर्ने कांग्रेसको अडान यथावत् छ । तर, सहमतिका लागि मध्य बिन्दु खोज्न काँग्रेस तयार रहेको बताइएको छ ।

नेकपा एमाले प्रदेश सभामा कमजोर रहे पनि शुरुबाटै मधेस प्रदेशको पक्षमा देखिएको छैन । हालै सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले पनि मधेस प्रदेशमा सहमति जनाउने सम्भावना बलियो छैन ।

यस्तो छ प्रदेश सभामा सम्भाबित दलीय समीकरण

प्रदेश सभामुखसहित १०७ जना सदस्य रहेको प्रदेश सभामा अहिले माओवादी केन्द्रका तीन सासदलाई कारबाहीपछि १०४ जना रहेका छन् ।

सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी जसपा ३८, सत्तारुढ दल कांग्रेस १९, नेकपा एकीकृत समाजवादी १३ र माओवादी ८, नेपाल संघीय समाजवादी १ गरी ७९ सासद रहेका भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १६ र विपक्षी दल एमाले ८ गरी विपक्षमा २४ जना सासद रहेका छन् ।

अहिलेको सरकारलाई दुई तिहाइ भन्दा पनि बढी बहुमत भएकोले यसपटकको प्रदेशसभाले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकिने नेताहरु बताउछन् ।