गण्डकी कांग्रेस सभापतिमा शुक्रराज शर्मा र अर्जुन जोशी बिच प्रतिस्पर्धा हुने

पोखरा – गण्डकी प्रदेशमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापतिका साझा उम्मेदवार शुक्रराज शर्मा चयन भएका छन्।

उम्मेदवारका अन्य आकांक्षीलाई मनाएर सभापतिका उम्मेदवार शर्मालाई चयन गरेको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेस कास्कीमा प्रभावशाली र तीन कार्यकाल सभापति रहेका शर्मा कांग्रेसको पूर्व वैकल्पिक केन्द्रीय सदस्य हुन्।

यसअघि पौडेल पक्षबाट सभापतिका लागि यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेल लगायतले आकांक्षा राखेका थिए।

देउवा पक्षबाट सभापतिमा केन्द्रिय सदस्य अर्जुन जोशी उम्मेदवार छन्। देउवापक्ष एक ढिक्का भएर उम्मेदवारी दिएपछि पौडेल पक्षलाई पनि साझा उम्मेदवार बनाउन दबाब परेको थियो।

प्रदेश सभापतिमा सहमति जुटाउन वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबारदेखि नै पोखरामा छन्। उनले सभापतिका उम्मेदवारहरूसँग छलफल गरेर सभापतिका साझा उम्मेदवार टुङ्गो लगाएको बताए। प्रदेश अधिवेशनमा शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ। त्यसअघि नै पदाधिकारी र सदस्यको समेत टुङ्गो लाग्ने पौडेलले बताए।

वरिष्ठ नेता पौडेलले बिहीबार राति कार्यकर्ताहरूका माझ सभापतिको साझा उम्मेदवार घोषणा गरेका थिए। सो अवसरमा कांग्रेस महामन्त्री शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेता धनराज गुरुङ, प्रदेश सभापतिका अन्य आकांक्षीहरू यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेललगायत सहभागी थिए।