कैलाली कांग्रेस जिल्ला अधिवेशन महाधिवेशनपछि हुने

नेपाली कांग्रेस कैलालीको अधिवेशन महाधिवेशनपछि हुने भएको छ। आज हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।

उनले यस विषयमा निर्णय हुन भने बाँकी रहेको बताएका छन्। ‘यस विषयमा आधिकारिक निर्णय गर्न बाँकी छ। हामी आज केही बेरमा नै यस विषयमा निर्णय गर्ने छौ,’ उनले भने।

कैलाली जिल्ला समितिलाई प्रदेश समितिको अधिवेशन गर्ने जिम्मेवारी दिएकाले अधिवेशन सार्नु परेको उनले बताए। उनले १६ गते प्रदेश अधिवेशन भएकाले आज जिल्ला अधिवेशन गरेर १६ गते प्रदेश अधिवेशन गर्न सम्भव नभएकाले जिल्ला अधिवेशन सारिएको बताएका छन्।

‘१५ गते प्रदेश अधिवेशनका लागि मनोनयन दर्ता गर्ने भनिएको छ। हामीले आज जिल्ला अधिवेशनको प्रक्रियामा गयौं भने १४ गतेसम्म जिल्ला अधिवेशनमै हुन्छौं। प्रदेश अधिवेशनको तयारी गर्न सक्दैनौं। त्यसैले अधिवेशन सारिएको हो। अब हामी केन्द्रीय महाधिवेशनपछि मात्रै कैलाली जिल्ला अधिवेशन गर्ने छौं,’ उनले भने।

उनले कैलालीको जस्तै समस्या मकवानपुरलगायत जिल्लामा पनि रहेको बताए। अन्य केही जिल्लामा पनि महाधिवेशन पछि अधिवेशन हुने हुने बताएका छन्।