माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि चीन लगियो

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई स्वास्थ्यमा सुधार नभएपछि थाइल्यान्डको बैंककबाट चीनको सेन्जेन लगिएको छ। पुन निकट स्रोतका अनुसार उनलाई सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको हो।

बैंककको समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए। काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेको थियो। थाइल्यान्डमा उपचार गरेर घटेको बिलरुविन पछि अति नै बढेको पुन निकट स्रोतले हेलो कर्णालीलाई बतायो।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो। उनी नेपालका सुमेरू, ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए।