आज देखि दीपावली पर्व सुरु, आज धनतेरस मनाइँदै

आज देखि हिन्दु परम्परा अनुसार दीपावली पर्व सुरु हुँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज ‘धनतेरस’ मनाइँदै छ ।

पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउने गरिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजा आराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मान्यता छ ।

आजै साँझदेखि घरघरमा उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । सन्ध्याकलामा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भिडभाड रहन्छ । हिन्दु परम्परा अनुसार आज किनिएको सामान शुभ फल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।